फोहोर व्यवस्थापनका गाडी तोडफोड गर्नेमाथि कडा कारबाही गर्ने बालेन्द्रको चेतावनी
काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनका गाडी तोडफोड गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
फोहोर लिएर बन्चरेडाँडा ल्याण्डफिल साइटमा पुगेका एक दर्जन बढी गाडी आइतबार राति तोडफोड भएपछि मेयर शाहले यस्तो चेतावनी दिएका हुन्।
‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ। यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो। वर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ। फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ।’
साथै उनले तोडफोड गरिएका गाडीको तस्बिर राख्दै कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध भएको बताएका छन् ।
‘कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ’ उनले भनेका छन्, ‘ तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ। यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ।’
शाहले केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिने पनि स्पष्ट पारेका छन्।
साथै विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध नगर्न आग्रहसमेत शाहले गरेका छन् । फोहोर व्यवस्थापनमा अवरोध हुँदा काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन् ।
लामो समयदेखि थुप्रिएर रहेको फोहोर महानगरपािलकाले केही दिन अघिबाट फोहोर उठाउन थालेको थियो। तर बञ्चरेडाँडाका स्थानीयले निरन्तर अवरोध गर्दै आएका थिए। गएराति भने फोहोरको गाडिमाथि नै अज्ञात समूहले तोडफोड गरेको हो।
प्रतिक्रिया दिनुहोस्