सिट बाँडफाँटबारे कांग्रेस नेतृत्वले गर्यो कार्यदल सदस्यसँग छलफल
काठमाडौं, साउन २३ । नेपाली कांग्रेसले सत्ता साझेदार दलहरुका बीचमा सिट बाँडफाँटका लागि गठित कार्यदलमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुसँग छलफल गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएर कांग्रेसले कार्यदलमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुसँग छलफल गरेको हो । कार्यदलका सदस्यहरुलाई सिट बाँडफाँटका क्रममा पार्टीले लिने नीतिका बारेमा सरसल्लाह दिइएको जानकारी प्रवक्ता डा. प्रकाशशरण महतले दिए ।
पाँच दलीय गठबन्धनले केही दिनअघि सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला र सरकारका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य केन्द्रीय ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्।
कार्यदलमा नेकपा माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा)बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट नेता हिमलाल पुरी र आनन्द शर्मा रहेका छन्।
सिट बाँडफाँटका लागि बनेको कार्यदलको पहिलो बैठक आज (सोमबार) दिउँसो ३ बजेका लागि बोलाइएको छ। बैठकले सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्ने बताइएको छ।
सत्ता गठबन्धनका पाँच दलले बनाएको ११ सदस्यीय समिति कार्यदलले साउन महिनाभित्र सिट बाँडफाँटको मोडल प्रस्ताव गर्ने समयसीमा पाएको छ।
पाँच दलीय सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको थियो।















प्रतिक्रिया दिनुहोस्