‘महँगीले गरीबको चुल्हो नबल्ने अवस्था छ, सरकार टुलुटुलु हेरेर बसेको छ ‘

काठमाडौं, साउन २२ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद शान्ता चौधरीले बजारमा चर्को महङ्गी बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले अहिले बजार भाउ असाध्यै बढेको र बजार भाउ बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी हुन् ।

उनले भनिन्, ‘नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने हुन सक्छ । धनीले त किनेर खान सक्लान् सभामुख महोदय तर, यो महङ्गी गरीवको घरमा चुल्हो नबल्ने अवस्था आउन सक्छ ।’ महङ्गीको नाममा भोकमरी आउन सक्ने उनले बताइन् ।

चौधरीले भनिन्, ‘यसले समाजमा अमनचयन विथोल्ने खतरा हुन सक्छ । सरकारको काम महङ्गीको साक्षी बस्ने होइन । त्यसलाई नियन्त्रण गर्ने हो । नेपाली कांग्रेस तथा गठबन्धनको खुला बजार अर्थनीति यसको प्रमुख कारण हो ।’

 

प्रतिक्रिया दिनुहोस्