हामीले निर्वाचन हार्न मिल्दैन, एमाले हारे देश हार्छ : ओली

काठमाडौं, साउन २० ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता-कार्यकर्तालाई अबको निर्वाचन तयारीमा केन्द्रित हुन निर्देशन दिएका छन् । पार्टीको एक कार्यक्रममा उनले एमालेले अहिलेको निर्वाचन हार्न नमिल्ने दाबी समेत गरे ।

अध्यक्ष ओलीले एमालेले हार्दा देश हार्ने दाबी समेत गरे । ‘अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन । नेकपा एमालेका लागि त केही छैन । पाँच वर्ष प्रतिपक्षमा बस्छ । प्रतिपक्षमा बसेर जनताको पक्षमा बोल्छ, आवाज उठाउँछ । राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, शुसासन, विकासको प्रश्नमा बोल्छ ।’

अध्यक्ष ओलीले भने, ‘यस्ता काम गर्न कार्यक्षेत्र केही हुने होइन् । तर, एमालेले हार्दा देश हार्छ । एमालेले जित्नै पर्ने कारण के छ भने देशलाई जिताउनु पर्ने छ । देशलाई हार्न दिनु हुने छैन ।’ उनले आफू सरकारबाट हटेयता भ्रष्टाचार बढेको दाबी गरे । गठबन्धनममा रहेका नेताहरुको उद्देश्यमाथि समेत प्रश्न उठाएका छन् ।

‘फलानोको मेडमलाई प्रधानमन्त्री बनाउन कार्यकर्ता खटेका हुन् त ?’
नेकपा एमालेका अध्यक्ष ओलीले सत्तारुढ नेपाली कांग्रेसभित्र लोकतन्त्रप्रति समर्पित कार्यकर्ताहरु पनि रहेको दाबी गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाप्रति कटाक्ष गर्दै ‘फलानोको मेडमलाई प्रधानमन्त्री बनाउन नै सबै कार्यकर्ता खटेका हुन त ?’ भन्दै प्रश्न गरेका छन् । ‘नेपाली कांग्रेसभित्र फलानोको मेडमलाई प्रधानमन्त्री बनाउन नै सबै कार्यकर्ता खटेका हुन त ? होइन नि त्यहाँ लोकतन्त्रप्रति समर्पित मान्छेहरु पनि छन्,’ ओलीले भने, ‘हामीले ती मान्छेलाई भन्नपर्यो तपाईंहरु के का लागि काम गर्नु हुन्छ ?’

प्रतिक्रिया दिनुहोस्