सत्ता गठबन्धन बैठकः साउन मसान्तसम्म सिट बाँडफाँडको खाका तयार पार्ने

काठमाडौँ , साउन २० । सत्ता गठबन्धनले साउन मसान्तसम्म सिट बाँडफाँडको खाका तयार गर्ने म्यान्डेटसहित कार्यदल गठन गरेको छ । शुक्रबार बसेको गठबन्धनको बैठकमा चुनावी तालमेलसहित कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २(२ जनाको प्रतिनिधित्व रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । कार्यदलमा कांग्रेसबाट कार्कीसहित नेता कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुन रहेका छन् ।
त्यस्तै जसपाबाट नेताहरू रामसहाय यादव र रकम चेम्जोङ, नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल रहेका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमाल पुरी र आनन्द शर्मा कार्यदलका सदस्य रहेका छन् ।

सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो । प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन ।

नेताहरू सिट बाँडफाँटका लागि ढाँचा बनाउनै सकस पर्ने बताउँछन् । यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठे पनि सबै ठाउँमा यो ढाँचा काम नलाग्ने कांग्रेसका एक नेता बताउँछन् । अनौपचारिक छलफलका क्रममा कांग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गर्ने भएका छन् ।

यसैबीच त्यसैगरि सत्तागठबन्धनमा आबद्ध दलहरूबीच आगामी निर्वाचनसम्मै चुनावी तालमेल गरेर जाने सहमति भएको छ। आज बसेको गठबन्धनका पाँच दलको बैठकले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय गरेको नेकपा ( माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले बताए ।
यता सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा आगामी मंसिर ४ गते गर्ने घोषणा गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्