अर्थ सचिव मरासिनीको सरुवा, कृष्णहरि पुष्करलाई दिइयो जिम्मेवारी

काठमाडौं, साउन १९ । सरकारले सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवको जिम्मेवारी राजस्व सचिव कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव पुष्करलाई तत्कालका लागि अर्थ सचिवको जिम्मेवारी दिएको हो ।

जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि फर्किएपछि अर्थ सचिव मधुकुमार मरासिनी मन्त्रालयमा हाजिर भएका थिएनन् । मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

त्यस्तै बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएका छन् । त्यहाँ रहेका डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् ।

महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्