संसदीय निर्वाचन : यसरी हुँदैछ सत्ता गठबन्धनमा सिट बाँडफाँट

काठमाडौं, साउन १९ ।  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटका लागि सत्ता गठबन्धन दलले समिति बनाउने भएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनले मंसिर ४ गते एकै चरणमा दुवै सभाको निर्वाचन गर्ने सहमति गरेका थिए । बैठकमा प्रतिनिधि सभाका १६५ र प्रदेश सभाको ३३० क्षेत्रको बाँडफाँट समिति बनाएर गर्ने सहमति भएको एक नेताले जानकारी दिएका छन् ।

त्यसका लागि शुक्रबार ( साउन २०) गते विहान ९ बजे फेरि बैठक राखिएको उनले बताएका छन् । हामीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको सिट बाँडफाँट समिति बनाएर गर्ने समझदारी बनाएका छौँ,’ उनले भने । यसअघि स्थानीय तहको निर्वाचनको लागि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो । त्यो संयन्त्रले स्थानीय तहको तालमेल मोडालिटी बनाएको थियो ।

तर, ३ सय स्थानीय तहमा मात्र तालमेल भएको, केही तालमेलमा गठबन्धनभित्र असहयोग भएपछि अहिले भने शुरुदेखि नै गठबन्धनले बनाएको समितिमार्फत निर्वाचन क्षेत्र बाँड्ने तयारी छ । सम्भवतः पाँचै दलबाट कम्तीमा दुई जना रहने गरी समिति बन्न सक्ने जनाइएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पनि भोलि ९ बजे बस्ने बैठकमा धेरै विषयमा छलफल गरेर निणर्यमा पुग्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्