कोसी र नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव

काठमाडौं, साउन १९ । आज र भोलि कोसी र नारायणी नदीको जलसतह केही घट्ने भए पनि सतर्कता तह आसपास नै हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान सूचना जारी गरी कोसी र नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई होसियार रहन सुझाव दिएको हो।

तल नक्सामा उल्लिखित जिल्ला भई बहने केही ससाना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने अनुमान गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

केहिदिनबाट देशका विभिन्न स्थानमा पानी परिरहेको छ । यस कारण पनि पहिरो बाढिको जोखिम बढेको हो । सावधानि अपनाउन आग्रह गरिएको हो ।

यता घरबार छाडेर ज्यान जोगाउन सुरक्षित स्थानमा ल्याइएका कोसीका बाढी पीडित जोखिमका बीच घर फर्कन हत्ते गर्न थालेका छन्।

घरमा चौपायाको विजोग भएको भन्दै उनीहरू घर फर्काउन दबाब दिइरहेका छन्। घरखेत र चौपाया, कुखुरा लगायतको मायाले स्थानीयवासीलाई चिन्तित भएका हुन् । आफ्ना वस्तुभाउको मायाले धेरै विस्थापितहरू जोखिम मोलेर घर फर्कन तयार छन्।

सर्वसाधारणलाई अर्को त्रास पनि छ। कोसी टप्पु वन्यजन्तु आरक्षले आफू नभएको मौका छोपेर जग्गा कब्जा गरिदिने त्रासकै कारण कोसी बाढीमा फसेका सयौं सर्वसाधारण ज्यान माया मारेर घरखेत रुघेर बसेका छन्।

३४ वर्षपछि धार बदलेर कोसीको भंगालो गाउँ प्रवेश गरेपछि उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ नम्बर वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिकाको ६ र ९ नम्बर वडाका २५ सय परिवार प्रत्यक्ष प्रभावित भएका छन्। गाउँतिर सोझिएको भंगालोको पानी झनै बढे पनि सयौं स्थानीयवासी घर छोडन मानिरहेका छैनन्।

गाउँमा जोखिम झनै बढेको अवस्था छ। पानी टम्म भरिएर जोखिम बढेको अवस्थामा पनि धेरैले घर छाड्न अस्वीकार गरिरहेका छन्।घर छाड्न नमानेकाहरू सबभन्दा धेरै वेलका क्षेत्रका छन् भने बराह क्षेत्रका पनि उत्तिकै छन्।

 

प्रतिक्रिया दिनुहोस्