प्रहरी समायोजनका लागि आन्दोलन गर्ने मधेस सरकारको घोषणा

काठमाडौं, साउन १८ ।  प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

यही साउन २२ गते सबै दलका प्रदेशसभा सदस्यसहित सबै मन्त्रीहरूको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यतालिका रहेको उनले बताए । सातदिने ‘अल्टिमेटम’सहितको ज्ञापनपत्रपछि पनि प्रहरी समायेजन नगरिए संर्घषका थप कार्यक्रम सार्वजनिक गरिने उनले चेतावनी दिए ।

सर्वदलीय बैठकबाट आन्दोलनको निर्णय गरिएको भन्दै आन्दोलनमा प्रदेशका सबै राजनीतिक दलको समर्थन र सहयोग रहने उनको भनाइ छ । “निर्वाचनको मिति तय हुनसकेको छैन । वर्तमान संघीय सरकार संघीयताप्रति गम्भीर देखिँदैन । मधेस प्रदेशलगायत तमाम प्रदेशहरूमा शान्ति सुरक्षाको अवस्था सृदृढ हुनुपर्ने हो । त्यसमा प्रहरीको अभावमा समस्या आएको छ,” उनले भने ।

अहिले पनि संघीयताविरोधीहरूलाई बल पुग्ने गरी केन्द्र सरकारले काम गरिरहेको आरोप उनले लगाए । अधिकार नदिँदा संघयितामा पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको उनले उल्लेख गरे ।

मन्त्री साहले संर्घष आफूहरूको बाध्यता रहेको भन्दै मधेसी जनतालाई अधिकारसम्पन्न बनाउनका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । उनले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दा प्रहरी समायोजन गर्नमा प्रधानमन्त्री गम्भीर नदेखिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्