अझै खुलेन मुग्लिन–नारायणगढ सडक : १६ घण्टादेखि बन्द, भोक–तिर्खा र गर्मीले यात्रु हैरान

काठमाडौं, साउन १७ । पहिरोका कारण गए राति ११ बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड अझै खुलेको छैन ।

गए रातिदेखि नै सडक बन्द भएकाले यो सडक खण्डमा गाडीको लामो लाइन छ । रातिदेखि नै रोकिएका यात्रुहरू भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य छन् ।

यस्तै नौबिसे–मुग्लिन सडक खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गएको छ । पहिरोका कारण सडक बन्द भएकाले यो सडक हुँदै चल्ने गाडीलाई बिहानैदेखि नाका–नाकामा रोकिएको छ । काठमाण्डौदेखि छुट्ने गाडी नागढुङ्गा, थानकोट, कलङ्कीलगायत ठाउँमा रोकेर राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पहिरो नहटेसम्म यो सडक खण्डको यात्रामा ननिस्कन पनि महाशाखाले आग्रह गरेको छ । यता पहिरो पन्छाउने काम भइरहे पनि आज बेलुकीअघि सडक खुलाउन सकिने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ९डीएसपी० एवम् प्रवक्ता नरहरि अधिकारीले बताए

भरतपुर महानगरपालिकाको १७ किलो र इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा खसेको पहिरो पन्छाइएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारी र मुग्लिन नजिक घोप्टेखोलाको पहिरो पन्छाउन बाँकी रहेको डीएसपी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्