काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्या गरेर श्रीमानले आत्महत्या गरेको शङ्का: भेटियो चक्कु र ‘सुसाइड नोट’
काठमाडौं, साउन १६ । काठमाण्डौको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ । \
श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
उनका अनुसार केशव पाण्डे झुन्डिएको अवस्थामा फेला परेको र अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको छ । घटनाको प्रकृति हेर्दा दिनेशले श्रीमती छोराछोरीको हत्या गरिसकेपछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
घरमूली दिनेश पाण्डेकी श्रीमती सुनिता, छोरा र छोरी गरी तीन जनाको शव एउटा कोठामा भेटिएको छ भने दिनेशको शव फरक कोठामा झुन्डिएको अवस्थामा छ ।
घटनामा प्रयोग भएको एउटा चक्कु भेटिएको छ । यस्तै चार पेज लामो ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले जनाएको छ ।शव भेटिएकोमा घटनास्थलमा ‘सुसाइड नोट’ भेटिएको छ। आत्महत्या गरेका ४१ वर्षीय दिनेश पाण्डेले लेखेको ‘सुसाइड नोट’ भेटिएको प्रहरीले जानकारी दिएको हो।
‘घटनास्थलमा चार पेज लामो सुसाइड नोट भेटिएको छ,’ नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेकप्रसाद राईले भने। राईका अनुसार दिनेशले सुसाइड नोट लेखेका हुन्। उक्त पत्रको अनुसन्धान भइरहेको जानकारी दिएका उनले उक्त नोटमा भएका कुरा भने खुलाउन चाहेनन्।
आज बिहान स्कुल जाने बेलामा एक जना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।
घटनाको अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
यसैबीच परिवारै सखाप भएको काभ्रेस्थली घटनामा मृतक सुनिताका माइती पक्षले शव उठाउन दिएका छैनन्।दुई छोरा छोरी र श्रीमतीको हत्या गरेर आत्महत्या गरेका दिनेश पाण्डेले अरुको पनि सहयोगमा परिवारको हत्या गरेको हुनसक्ने भन्दै आफन्तले शव उठाउन नदिएका हुन्।
उनीहरुले घटनाको छानबिन हुनुपर्ने बताएका छन्।अहिले घटनास्थलमा मृतकका आफन्त र स्थानीयले नाराबाजी गरिरहेका छन्। अवस्था तनावग्रस्त भएपछि थप प्रहरी परिचालन गरिएको छ।
काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा घर झगडाले परिवारै सखाप भएको हो।
प्रतिक्रिया दिनुहोस्