सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो
काठमाडौं, साउन १३ । सरकारले अमेरिकी सरकारको रक्षा मन्त्रालय र यसका राज्यहरुको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णयबारेको पत्र अमेरिकालाई पठाएको छ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सेना र नेपाली सेनाबीच हुने भनिएको एसपीपी कार्यक्रम अघि नबढाउने जानकारीसहितको पत्र अमेरिकालाई पठाइएको शुक्रबारको संसद बैठकमा दिएका छन्।
‘परराष्ट्र मन्त्रालयले सरकारको निर्णयलाई कार्यान्वयन गरिसकेको व्यहोरा जानकारी गराउन चाहन्छु’, उनले भने, ‘२०७९ साउन ९ गते कूटनीतिक माध्यमबाट एसपीपी कार्यक्रमलाई अघि नबढाउने जानकारीसहित अमेरिकी सरकारलाई पत्र पठाएको जानकारी गराउन चाहन्छु।’
उनले २०७९ असार ६ गते एसपीपी कार्यक्रम अघि नबढाउने भनिसकेको अवस्थामा आन्तरिक छलफल गरेर पत्र पठाउन केही ढिला भएको बताए।
‘यो निर्णयलाई अमेरिकी सरकारलाई नेपाल सरकारले जानकारी गराएन भनेर सांसदहरुले प्रश्न उठाउनु भएको छ’ ,उनले भने, ‘एसपीपीबारे नेपाल सरकारले गरेको निर्णयबारे अहिलेसम्मका विकासक्रमबारे जवाफ दिन संसदमा आएको हुँ। सरकारले यसबारे अमेरिकालाई पत्र पठाइसकेको छ।’
खड्काले संसदीय समिति र सभामुखबाट पनि एसपीपीबारेको निर्णयबारे जानकारी गराउन निर्देशन प्राप्त भएको उनले बताए।
खड्काले नेपाल कुनै पनि सैन्य गठबन्धनमा संलग्न नहुने पनि बताएका छन्। उनले नेपालले असंलग्न परराष्ट नीति अवलम्बन गरेकाले यसमा दायाँबायाँ नहुने पनि बताएका छन्।














प्रतिक्रिया दिनुहोस्