अहिलेको संसद भङ्ग गर्नुपर्छ : विष्णु पौडेल

काठमाडौं, साउन १३ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाएका छन् । अर्थमन्त्रीको बजेट काण्डदेखि नागरिकता विधेयक सबै विदेशीको इशारा र निर्देशनमा आएको उनको आरोप छ ।

प्रेस चौतारी सिन्धुलीले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले देशलाई समृद्ध र सही दिशातर्फ लैजान अहिलेको संसद् भंग गर्नुपर्ने बताएका छन् । अहिलेको संसद्ले देशलाई निकास दिन नसक्ने ठोकुवा गर्दै उनले तत्काल निर्वाचनमा जानुपर्ने बताए ।

गठबन्धन सरकारले संसदबाट पारित नागरिकता विधेयक विदेशीको इसारामा ल्याएको आरोप लगाउँदै यो सरकार विदेशीको कठपुतली हो भन्ने प्रमाणित भएको जिकिर गरे । तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो संसदबाट देशले निकास नपाउने भन्दै संसद् विघटन गरी घोषणा गरेको निर्वाचनको औचित्य अहिले आएर गठबन्धन सरकारले नै पुष्टि गरेको उनको दाबी छ ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले सरकारले ल्याएको बजेटको नाटक र नागरिकता विधेयकले सरकार विदेशीको इशारामा चलेको थप पुष्टि गरेको बताए । बजेट वक्तव्यमा देखिएको तमासाले आमनागरिकमा सरकारको गोपनीयता र विश्वास दुवै गुमेको बताउँदै उनले तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्र भइरहेको आरोप लगाए ।

विदेशीको इसारामा चलेको सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पुर्‍याएको र यसको एउटै विकल्प एमालेको सरकार रहेको उनको भनाइ छ । तत्काल संसद् भंग गरी निर्वाचनमा नजाने हो भने देश दुर्गतिको बाटोमा जाने दोहोर्‍याउँदै उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भए एमालेले बहुमत ल्याउने ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्