‘यौनजन्य हिंसाका अपराधीलाई छुट दिनु हुँदैन’

 

काठमाडौँ , साउन १२ । राष्ट्रिय सभाकी सांसद तुलसाकुमारी दाहालले यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिनु नहुने बताएकी छन् ।
आज (बिहीबार) राष्ट्रिय सभाको दोस्रो बैठकमा विधेयक सम्बन्धी छलफलका क्रममा बोल्दै उनले सुत्केरीहरुलाई ९० दिनसम्म बाहिर बसेर स्याहार गर्ने व्यवस्था गर्नुपर्ने बताइन् । युवाहरुलाई श्रम शिविरमा राखेर श्रम गराउनुपर्नेमा उनले जोड दिइन् ।

उनले भनिन्, ‘कारागारका भौतिक संरचनाहरु राम्रा छैनन् । पानी चुहिने अवस्था छ । बन्दीहरुलाई क्षमताभन्दा बढी राख्ने गरिएको छ । कारागारमा राख्ने अपराधीहरुको स्थानहरु जुन उमेर छ, उमेरको हिसाबले छुट गर्ने व्यवस्था गरिएको छ । खासगरी यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिइनु हुँदैन । थुनामा राख्ने र कारागारमा राख्ने बन्दी एकै ठाउँमा राख्ने गरिएको छ, यो गरिनु हुन्न ।’

उनले भनिन्, ‘कारागारमा भएका महिलाहरु सुत्केरी भएमा उनीहरुले बाहिर बसेर स्याहार गर्नसक्ने ३० दिनका लागि भनिएको छ । उनीहरुलाई ९० दिन दिनुपर्छ संवेदनशिलताको आधारमा पनि । बच्चाहरुलाई शिक्षा, दिक्षा र संरक्षण राज्यले गर्नुपर्छ। कारागारका बन्दीहरुको सीप, अध्ययनको कुराहरुलाई व्यवस्थित गरिनु पर्छ । मनोविमर्श तालिमको व्यवस्था गरिनु पर्छ । कारागारभित्र रहेको निश्चित उमेरका युवा समूहलाई काममा लगाउनु पर्छ । राज्यका सम्पती उनीहरुलाई खुवाउने र उनीहरुको व्यवस्थापनमा खर्च भइरहेको छ । उनीहरुलाई श्रम शिविरमा लिएर श्रममा लगाउनु पर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्