कांग्रेससँगै सहकार्य हुन्छ, एमालेसँग चुनावी तालमेलको सम्भावना सकियो : प्रचण्ड

काठमाडौँ , साउन १२ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिल्ने सम्भावना अब सकिएको बताएका छन् ।

२०७४ को निर्वाचनमा गठबन्धन गरेका माओवादी केन्द्र र एमालेबीच मिलनविन्दू पहिलाउने प्रयास भएरहेका बेला प्रचण्डले यस्तो बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटी बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङका क्रममा प्रचण्डले एमालेको प्रशंगमा अडान प्रष्ट्याएका हुन् ।

‘अब एमालेसँग गठबन्धन वा तालमेलको च्याप्टर क्लोज भएको छ’, उनले भने, ‘त्यो सम्भावना तत्कालका लागि अन्त्य भएको छ, कांग्रेससँग नै सहकार्य हुन्छ । दायाँ बायाँ सोच्न हुँदैन ।’

अहिले एमाले र माओवादीका केही नेताहरुबीच दुई दलबीच गठबन्धन गर्नुपर्ने विषयलाई लिएर छलफल भइरहेको छ । उनले अब वाम दलहरुबीच समाजवादी केन्द्र बनाए पनि आगामी चुनावसम्म कांग्रेससँगकै गठबन्धन कायम गरेर जाने बताए ।

 

प्रतिक्रिया दिनुहोस्