कांग्रेससँग ‘बार्गेनिङ’ गर्न मात्र वाम गठबन्धनको चर्चा : शेखर कोइराला

काठमाडौं, साउन ११ ।  सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलाइएको आरोप लगाएका छन् । सत्ता गठबन्धनका पाँच दलमध्ये कांग्रेस बाहेकका दलले बाम गठबन्धन गर्ने गृहकार्य गरिरहेको बेला कोइरालाको यस्तो टिप्पणी गरेका हुन् ।

नेपाल प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले भने, ‘माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका कुरा जसरी उठाइरहेका छन्, यो बार्गेनिङ गर्नका लागि हो । हामी नै सबै हौं भन्ने उनीहरुलाई लागेको छ, तर बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस लार्ज (ठूलो) पार्टी हो ।’

संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसलाई कम क्षति हुने गरी कसरी तालमेलमा जाने भनेर विभिन्न राजनीतिक दलहरुसँग छलफल भइरहेको उनले बताए । ‘प्रदेश र संघको निर्वाचनमा होमिंदै छौं, कांग्रेसलाई कम क्षति हुने गरी कसरी जाने भनेर छलफल भइरहेको छ,’ उनले भने ।

तालमेल गर्ने क्रममा ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्ने ग्यारेन्टी हुनुपर्ने कोइरालाले बताएका छन् । तालमेलका लागि उनले तीन शर्त राखे । पहिलो, आर्थिक सामाजिक रुपान्तरणको बारेमा एउटै धारणा हुनुपर्ने, दोस्रो, वैदेशिक नीतिमा न्युनतम समझदारी हुनुपर्ने र तेस्रो, ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्ने उनको शर्त छ ।

संघ र प्रदेशको निर्वाचनका लागि सत्ता गठबन्धन भित्र हुने सिट बाँडफाटमा माओवादी केन्द्रले भनेअनुसार जान नसकिने उनले बताए । ‘सिट बाँडफाँट कसरी हुन्छ त म भन्न सक्दिनँ, तर जसरी माओवादीले सिट बाँडौं भनिरहेको छ, त्यसरी हुँदैन,’ उनले भने, ‘२०७४ सालको आधारमा सिट बाँडफाँट हुन सक्दैन ।’

गिरीजाबाबुले भनेजस्तो सहमति, सहकार्य र एकता पहिला कांग्रेसभित्र हुनुपर्ने र त्यसपछि अन्य तालमेल गर्ने दलसँग खोज्नुपर्ने उनले बताए । प्रदेश र संघको निर्वाचनमा जाँदा स्थानीय तहमा तालमेल गर्दा देखिएको कमजोरी दोहोरिन नहुने कोइरालाको भनाइ थियो ।

कांग्रेस भित्रको गुटगत राजनीति गर्दा पार्टी कमजोर भइरहेको भन्ने पत्रकारको जिज्ञासामा उनले वैचारिक राजनीतिमा फरक धारणा आउनु सामान्य भएको बताउँदै कम्युनिष्ट, जसपा लगायत अन्य दलसँग लड्दा कांग्रेस एकढिक्का हुनुपर्ने बताए ।

अंगिकृत नागरिकता भन्ने वित्तिकै दक्षिणतिर हेरेर बहस गर्ने गरेकोमा असन्तुष्टि जनाउँदै उनले नेपाली केटासँग विवाह गरेर आएकी विदेशी महिलाले अर्को देशको नागरिकता त्यागेपछि नेपाली नागरिकता दिनुलाई गलत ठान्न नहुने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्