छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ , साउन ८ । ललितपुर, पाल्पा र सर्लाहीमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

ललितपुरको ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले बा. ४५ प १३४५ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक धोबिघाट बस्ने चितवन घर भएकी २३ वर्षीया रेखा मगर रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डबि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

पाल्पाको रिप्दीकोट गाउँपालिका–२ लघुवास्थित सडकमा लु.१ ख ५९५२ नम्बरको बस आइतबार दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका बस चालक सहित १६ जनालाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाएकोमा ८ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् । अन्यको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाहीको धनकौल गाउँपालिका–२ नयाँ रोड मधुवनीस्थित सडकमा ना.७ त १७३५ नम्बरको ट्रयाक्टरले बिआर ३० क्यू ४१०२ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामनगर नगरपालिका–५ बस्ने २२ वर्षीय रमेश कुमार यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स संजिवनी अस्पताल बरहथवा हुँदै नेपाल मेडिसिटी ब्ययोधा अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्