छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं , साउन ८ । बाँके, कैलाली, झापा र सिरहामा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० राझामा ग.९ प १६६० नम्बरको स्कुटर शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक सोही ठाउँ बस्ने १९ वर्षीय खेमराज शाही र स्कुटरमा सवार १६ वर्षीय दिनेश राना मगर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा रोकी राखेको बा.२१ च २९०३ नम्बरको बलेरो जिपमा क.१ प १५९८ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक जुम्ला तातोपानी गाउँपालिका–१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार जुम्ला तातोपानी गाउँपालिका–१ बस्ने २५ वर्षीय अक्कल कठायतको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।

झापाको कमल गाउँपालिका–१ पुतली चोकस्थित सडकमा प्र.१–०१–०१३ प ४३४२ नम्बरको स्कुटरको ठक्करबाट शनिबार पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीया मनमाया बास्कोटा रहेकी छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालकको मक अस्पताल एण्ड रिसर्च सेन्टर दमकमा उपचार भइरहेको छ ।

सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित सडकमा प्र.२–०१–००१ च. ०३२७ नम्बरको पिकअपको ठक्करबाट शनिबार पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेकी करिब १४ वर्षीया बालिका रहेकी छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको फुलकुमारी मेमोरील अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्