रासायनिक मलको समस्या छिट्टै समाधान हुन्छ : कृषिमन्त्री यादव

काठमाडौं, साउन ७ । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले रासायनिक मलको समस्या चाँडै समाधान हुने बताएका छन्।हाल ग्लोबल टेन्डरको मल ल्याएर बिक्री वितरण भइरहेको र थप ५० हजार मेट्रिक टन आउने क्रममा रहेको उनले जानकारी दिए।

एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् ९अनाज० मा आबद्ध पत्रकारसँग भएको भेटमा उनले भने, ‘अहिले मलको समस्या समाधान हुँदै छ। २० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी मल आउने क्रममा छ। भारत सरकारसँग भएको जीटुजी सम्झौताको मल आएपछि यो आर्थिक वर्षका लागि समस्या हुँदैन।’

उनले मलका लागि बिहीबार मात्रै भारतीय राजदूतसँग कुराकानी गरेको बताए। राजदूतसँगको भेटमा भारतीय भारतबाट मल ल्याउन तत्कालै पहल गर्ने प्रतिबद्धता व्यक्त भएको मन्त्री यादवले जानकारी दिए।

नेपालबाट सबै प्रक्रिया पूरा भइसकेको र भारतबाट मल आउन मात्र बाँकी रहेको दाबी गर्दै उनले साउनभित्रै नेपालमा मल आइपुग्ने धारणा व्यक्त गरे। सम्झौताअनुसार यो आर्थिक वर्षमा भारतले १ लाख ७० हजार मेट्रिक टन मल दिनेछ। नेपालले एकै पटक सबै परिमाणको मल दिन आग्रह गरे पनि भारतले अहिलेसम्म यसबारे जवाफ दिइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्