पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे वामदेव गौतम, तीनवटा चुनाव चिह्न प्रस्ताव

काठमाडौं, साउन ४ । वामदेव गौतम नेतृत्वको नेकपा (एकता राष्ट्रिय अभियान) दर्ताका लागि निर्वाचन आयोगमा पुगेको छ।

मंगलबार दिउँसो वामदेव गौतम संयोजक हुनेगरी निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाइएको हो।

पार्टीको नाम नेकपा ९एकता राष्ट्रिय अभियान० हुनेछ भने यसका संयोजक वामदेव गौतम रहने गरी दर्ता प्रक्रिया अघि बढाइएको हो।

निर्वाचन आयोगमा उक्त दलको निवेदनको दर्ता नम्बर ६४ रहेको पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए।

उनका अनुसार ३ वटा चुनाव चिह्न आयोगमा प्रस्ताव गरिएको छ। ‘३ वटा नाम हामीले प्रस्ताव गरेका छौं,’ उनले भने, ‘आयोगले कुन चिह्न दिन्छ त्यही कायम हुन्छ।’

कुन कुन नाम आयोगमा प्रस्ताव गरिएको भन्नेबारे उनले खुलाएनन्। ७५ जना केन्द्रीय सदस्य हुनेगरी गत १४ असारमा गौतमले पार्टी घोषणा गरेका थिए।

राष्ट्रिय सभाका सांसद समेत रहेका गौतमले तत्कालिन नेकपा विभाजित भएपछि वाम एकताका लागि छुट्टै अभियान संचालन गर्दै आएका थिए।

उनले आफ्नो पार्टीको प्रमुख उद्देश्य नै नेपालका वामपन्थी दल एकीकृत गर्ने रहेको बताएका छन्।

पछिल्लोपटक उनले तत्कालिन नेकपाका बहुमत सदस्यहरुलाई २ पटक भेटघाटको कार्यक्रम तय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्