गायिका सुनार मृत्यु प्रकरणमा ट्वीस्ट : हत्या भएको प्रहरी निष्कर्ष
काठमाडौं, साउन १ । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा ट्वीस्ट आएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको हुनसक्ने बताइए पनि प्रहरीले विस्तृत अनुसन्धान गर्दा हत्या भएको निष्कर्ष प्रहरीले निकालेको हो । गायिका सुनारको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरी अनुसन्धान टुंग्याउनेतर्फ लागेको छ।
असार ११ गते गायिका सुनारको शव फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरी टोलीले हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो।
घटनाको अनुसन्धान गरिरहेको प्रहरी वृत्त बालाजुका प्रहरी नायव उपरीक्षक ( डीएसपी) गौतम केसीले अनुसन्धान टुंग्याएर फाइल बुझाउन लागिएको जानकारी दिए।
असार ११ गते शनिबार बिहान करिब ११ बजेतिर नेपालटारस्थित आफ्नै कोठामा गायिका सुनार मृत भेटिएकी थिइन्।
गायिका सुनारकै प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठ असार १२ गते पक्राउ परेका थिए। सूर्य विवाहित पुरुष हुन् । उनी दिलमायासँगै ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । आफ्नो पारिवारिक कारणले सूर्यले दिलमायाको हत्या गरेको हुन सक्ने आशंका छ ।
झुण्डिएर आत्महत्या गरेको भनिएका सुनारको शव ओछ्यामा हुनु, घटनाको केही समयअघि फेसबुकमा बाँच्न नसक्ने भन्दै स्टेटस लेख्नु, तर उक्त स्टेटस लेख्न प्रयोग भएको भनिएको मोबाइल अहिलेसम्म फेला नपर्नु, गायिका सुनारको सल लिएर प्रेमी फरार हुनुजस्ता कारणले सुनारले आत्महत्या गरेको नभइ हत्या भएको प्रहरी निष्कर्ष छ।
अन्ततः अब प्रहरीले गायिका सुनारको हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान टुंग्याउने भएको छ। यता गायिकाको मोबाइल अझै फेलापरेको छैन । मोबाइल सूर्यले नै लुकाएको वा कतै फालेको आशंका प्रहरीको छ ।














प्रतिक्रिया दिनुहोस्