देशभर अत्यधिक गर्मी महसुस , मंगलबारसम्म तापक्रम बढ्ने
काठमाडौं , साउन १ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभरका विभिन्न स्थानमा अत्यधिक गर्मी महसुस गरिएको छ ।
मनसुन सिजनमा पानी नपर्दा र न्यूनचापीय प्रणाली सरदरभन्दा दक्षिणतर्फ सक्रिय रहेकाले गर्मी बढेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई, पहाड र हिमाल तीनै क्षेत्रमा गर्मी बढ्दो क्रममा छ ।
आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३१.५ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन गरिएको छ ।महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले हिमाल, पहाड र तराईमा तापक्रम बढ्दो क्रममा छ ।
उनी भन्छिन्, “यसपटक मनसुनको सिजनमा पनि पानी परिदिएन । पानी परे पनि केही समयको लागि मात्रै पर्ने भइरहेको छ । गर्मी बढ्नुको मुख्य कारण नै सक्रिय मनसुनमा पानी नपर्नु हो ।”
उनका अनुसार अघिल्लो साता देशभर वर्षा भएकाले तापक्रम घटेको र कम गर्मी महसुस गरिएको थियो ।
महाशाखाको पछिल्लो विवरणानुसार दिपायलको अधिकम तापक्रम ३६ डिग्री सेल्सियस, धनगढीको ३७.८, नेपालगन्जको ३७, डडेलधुराको २८.८, विराटनगरको ३४.२, पोखराको ३४.५, जुम्लाको २७.४ डिग्री सेल्सियस मापन गरिएको छ । मौसमविद् मानन्धरका अनुसार आउँदो मंगलबारसम्म तापक्रम केही बढ्नेछ ।
उता कैलालीमा पनि अत्याधिक गर्मी महसुश गरिएको छ । गर्मीले गर्दा खेतमा लगाएका धानको बिउ समेत सुक्ने अवस्थामा पुग्ने भन्दै किषान चिन्तित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्