एसपीपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्ध भयो : अध्यक्ष नेपाल
काठमाडौं , असार ३१ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) पास नभएकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी पास नगरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गरेका हुन् । उनले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताए ।
अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरूको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको बताए । उनले एमसीसी जस्ताको त्यस्तै पास गरेको खण्डमा देश तहसनहस हुने दाबी गरे ।
अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा गर्दासमेत छिमेकी देशलाई संवेदनशील बनाउने काम भइरहेको बताए । साथै उनले नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी गरे ।
यसैबीच अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनको मिति कुनैपनि समयमा घोषणा हुनसक्ने पनि बताएका छन् । उनले अब चाँडै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष नेपालले संसदको अधिवेशन सकिनेबित्तिकै निर्वाचनको मिति घोषणा गरिने भएकोले मंसिरभन्दा पछि जाने सम्भावना नरहेको उल्लेख गरे ।















प्रतिक्रिया दिनुहोस्