१४८ मत ल्याएर उपसभामुखमा पुष्पा भुसाल निर्वाचि, को हुन भुसाल ?

काठमाडौं, असार ३१ । उपसभामुख पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।

उपसभामुख चयनका लागि आजको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले १४८ मत पाएकी छन् ।

उनकी प्रतिष्पर्धी नेकपा एमालेकी विद्या भट्टराईले ९३ मत पाइन् । आजको बैठकमा २४२ सांसद उपस्थित भएका थिए । एक सांसद भने तटस्थ रहे ।

भुसाललाई संसद्‌मा १३ सिट भएकाे लाेकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गरेकाे थियाे ।योसँगै झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको छ ।

काे हुन् पुष्पा भुसाल ?

अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आबद्ध छिन् । नेपाली कांग्रेसको महिला विभाग, कानून विभागमा लामो समय क्रियाशील भएकी उनले नेपाल महिला संघको महासचिव भएर पनि काम गरिन् । महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आएकी भुसालले विश्वविद्यालयमा प्रध्यापन, कानून व्यावसाय र राजनीतिलाई एकसाथ बढाएकी थिइन् ।

२०१७ साल फागुन १ गते जन्मिएकी भुसालले कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्रध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुन् । उनी केही समय कानून व्यावसायमा पनि सक्रिय भएर लागिन् । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा भूमिका खेलिन् ।

त्यसेबला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरिन् । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गरेकी नेता हुन् भुसाल । २०७४ सालको चुनावबाट समानुपातिक सांसद्मा निर्वाचित भएर आएपछि भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको चुनावमा भुसाल सांसद शिवमाया तुम्बाहाम्फेसँग पराजित हुन पुगेकी थिइन् ।

तत्कालीन वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे २०१ मत प्राप्त गर्दै विजयी हुँदा भुसालले ५८ मत प्राप्त गरेकी थिइन् । तुम्बाहाम्फेले राजीनामा दिएपछि रिक्त भएको सोही पदमा भुसालले अहिले फेरि उम्मेदवारी दिएकी हुन् । यो पटक उनलाई कांग्रेससहित पाँचदलीय गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

उनको पारिवारिक पृष्ठमूमि राजनीति हो । २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषद्‌मा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमका छोरी हुन् भुसाल । २०१७ सालमा पञ्चायत शुरू भएपछि काशीनाथ गौतम १४ वर्ष स-परिवार भारत निर्वासित हुँदा पुष्पा पनि सँगै थिइन् ।

प्रतिक्रिया दिनुहोस्