भारत उडे प्रचण्ड: जानुअघि भने- यो सद्भावना भ्रमण हो, अनावश्यक कन्फ्युजन हुन भएन

काठमाडौं , असार ३१ ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीन दिने भारत भ्रमणमा गएका छन् ।

भारत जानु अघि प्रचण्डले विमानस्थलमा कुराकानी गर्दै अहिले भ्रमण आकस्मिक देखिएपनि एक दुई महिना अघिदेखि नै भ्रमणको तयारी भइरहेको बताए ।

प्रचण्डले चिनियाँ अन्तर्राष्ट्रिय विभागका प्रमुख नेपाल भ्रमणमा आएलगत्तै हुन लागेको आफ्नो भ्रमण संयोग मात्र भएको र यस बारेमा अनावश्यक कन्फुज हुन आवश्यक नरहेको बताए ।

प्रचण्डले यो भ्रमण सद्भावना भ्रमण भएको बताउदै आफु भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत जान लागेको बताए ।

भारत भ्रमणको क्रममा दुई पक्षिय सम्बन्ध थप बलियो बनाउने विषयमा केन्द्रित हुने बताए ।भारत भ्रमण सकेर प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यस्तो छ भ्रमण तालिका

भाजपा अध्यक्ष जेपी नड्डा संग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेट तय गरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग को भेट अहिले निश्चित नभएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्