पैँतालीस वर्षपछि बन्यो पूर्वको तराई–पहाड जोड्ने उर्लाबारी — रवि सडक

काठमाडौं । पूर्वी नेपालको मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रविसम्म जोड्ने सडकखण्डमा गाडी सञ्चालन हुन थालेको छ ।

उर्लाबारीबाट बुधबार को १ च ५४५७ नं को एम्बुलेन्स बिरामी बोकेर सो सडकखण्ड भएर इलामको चुलाचुली गाउँपालिका–६ स्थित फुङ्नाम पुगेको छ । चालक सोही ठाउँका २२ वर्षीय नवीन श्रेष्ठले पहिलोपटक गाउँमा गाडी पु¥याएका स्रोतले जनाएको छ ।

सो गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासीसँगै जनप्रतिनिधिले चालकलाई भव्यरुपमा पैसा र फूलको माला लगाएर स्वागत एवं सम्मान गरेका थिए । आफूहरुको गाउँमा पहिलोपटक गाडी आइपुग्दा स्थानीयवासी निकै हर्षित भएका छन् ।
गाउँमा सडक नहुँदा यहाँका बिरामीलाई डोकोमा बोकेर तराईका अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यता थियो तर अब गाउँमै गाडी आउन थालेपछि सबै हर्षित भएका छन् ।
गाउँमा गाडी पुगेपछि अब गाउँमा उत्पादित कृषिजन्य सामग्री तराईका बजारसम्म आउने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

विसं २०२८ मा तत्कालीन शिक्षामन्त्री नगेन्द्र प्रधानले सो सडक निर्माणको शीलान्यास गरेका थिए । उर्लाबारीबाट पाँचथरको रविसम्मको यो सडक जम्मा ५२ किलोमिटर रहेको छ ।

उर्लाबारी–मधुमल्ला–रवि सडकखण्ड तराईलाई पूर्वी पहाडसँग जोड्ने सबैभन्दा छोटो द्रुत मार्ग बन्न पुगेको छ । अनेकौँ विवाद र लामो समयपछि सो सडकखण्डमा यातायातका साधन सञ्चालन हुन थालेपछि पहाडी जिल्ला इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका बासिन्दालाई तराई झर्न सहज भएको छ ।

तराईबाट एउटा पनि पुल निर्माण नगरी सहजै पहाडी जिल्लाको यात्रा गर्ने एकमात्र मार्ग भएकाले पूर्वी नेपालको समृद्धिका लागि निकै सहयोग पु¥याउने छ ।
नेपाल सरकारको आर्थिक सहयोगमा निर्मित सो सडकखण्ड पाँचथर र इलामको सिमाना राँके हुँदै मेची राजमार्गसँग पनि जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्