शैक्षिक योग्यता ढाँटेको भन्दै गभर्नरविरुद्ध वाइसिएलद्वारा अख्तियारमा उजुरी

काठमाडौं,असार ३० ।  नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियारमा उजुरी दायर गरेको छ।

आफ्नो शैक्षिक योग्यता ढाँटी राष्ट्रसेवक भई भ्रष्टाचारजन्य कसुर गरेको भन्दै वाइसिएलले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको हो।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य नहुने व्यवस्थाको प्रतिकूल हुने गरी अधिकारी गभर्नर पदमा बहाली रहेको वाइसिएलको निष्कर्ष छ।

‘नेपाल राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको, राज्यलाई गम्भीर हानिनोक्सानी पुग्ने खतरा देखिएकाले आवश्यक छानबिन गरी निजलाई बर्खास्त गरी भ्रष्टाचार कसुरमा कारबाही गरी पाउन यो उजुरीपत्र पेस गर्दछौँ,’ उजुरीमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्