गभर्नर एम अधिकारीले तत्काल राजीनामा दिनु पर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं , असार ३० ।   नेकपा माओवादी केन्द्रका राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

आज (बिहीबार) को राष्ट्रियसभा बैठकमा उनले विवादित गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘विवाद भइसक्यो । अन्योल भयो भनेर उहाँले पदबाट राजीनामा दिनु वेश हुन्छ । विधि र मूल्य लागु हुनुपर्‍यो’, उनले भने । उनले एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी र गभर्नर अधिकारी एकै हो भन्ने चर्चा भइरहेको बताएका छन् ।

‘सबैले उहाँ नै हो भनेर भनिरहेका छन् । महाप्रसाद अधिकारी एम अधिकारी त्यही जिल्लाको अर्को को होला त ? उहाँ नै हुनुहोला होला भनेर लागेको छ’, उनले थपे, ‘नेकपा एमाले वा गभर्नर अधिकारीले त्यसमा विश्वसनीय खण्डन गर्नु भएको छैन । गर्न सक्ने स्थिति पनि होला किन नहोला भन्ने गम्भीर छ ।’

उनले एमाले र अधिकारीले एम अधिकारी भन्ने व्यक्ति भए कागजात निकाल्न पनि चुनौती दिएका छन् । ‘होइन भने पुष्टि गर्ने कागजात चाहियो । ०७३ सालको गभर्नर हो, अहिलेको चाहीँ अर्कैै हो भन्ने पुष्टि गर्नुपर्‍यो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्