नागरिकता पहिलो संशोधन विधेयक संसदमा पेस

काठमाडौं, असार २९ ।  नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभामा पेस भएको छ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभा समक्ष पेस गरेका हुन्। गृहमन्त्री खाँणले संविधानको धारा १० मा कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चितता प्रदान गरिएको उल्लेख गरे।

उनले संविधानले निर्देश गरे बमोजिम नागरिकता सम्बन्धी विषयमा व्यवस्था गर्नको लागि नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरेको बताए।

गृहमन्त्री खाँणले भने, ‘नेपालको संविधानको भाग २ अन्तर्गत धारा १० देखि १५ सम्म नागरिकता सम्बन्धी व्यवस्था गरिएकोमा उक्त धाराहरुमा व्यवस्था गरिएदेखि बाहेक नागरिकता सम्बन्धी अन्य विषयका हकमा संघीय कानून बमोजिम हुने व्यहोरा उल्लेखित छ।’

उनले थपे, ‘संविधानको धारा १० मा कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चितता प्रदान गरिएको छ। संविधानले निर्देश गरे बमोजिम नागरिकता सम्बन्धी विषयमा व्यवस्था गर्नको लागि नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक यस सम्मानित प्रतिनिधि सभा समक्ष पेस गर्दछु।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले दिएको विरोधको सूचना अस्वीकृत भएपछि गृहमन्त्री खाँणले नागरिकता सम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्