‘डायलायसीस र मीर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न जोड
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गरेका छन् । अनुगमनका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले विरामीमैत्री सेवा प्रबाह गर्न निर्देशन दिए । प्रत्यारोपण केन्द्रको अनुगमन गर्दै मन्त्री केसीले डायलायसीस गर्न र मीर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई निराकरण गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिलेपनि सजिलैसंग केन्द्रबाट डायलायसीस नभएको सुनिन्छ । निकै पालो कुर्नुपर्ने अवस्था छ । यस्तै, प्रत्यारोपण गर्न निकै समय लाग्छ । यो अवस्थाको अन्त्य गर्नुपर्छ । बरु के गर्नुपर्छ मैले मेरो तर्फबाट पहल गर्छु । विरामीलाई दुःख नदिनुहोस ।’ प्रत्यारोपण केन्द्रमा नाम टिपाएका सबैको पालो आउन समय लाग्ने समस्याको हल गर्न आवश्यक रहेको बताए । उनले अहिलेपनि शैया नपाएर विरामी मर्कामा पर्ने गरेको बताए । केसीले भने, के गर्नुपर्छ मैले सहजीकरण गर्छु ।
राज्य मन्त्री केसीले भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गर्दै चिकित्सहरु सीमित स्रोत साधनका बाबजुत रातदिन खटेर सेवा प्रवाह गरेको भन्दै अस्पताललाई धन्यवाद दिए । उनले भने, ‘बाहिर चिकित्सकबाट वा अस्पतालबाट लापरबाही भएको सुन्छौं । खट्ने मान्छे विहानै देखि बेलुकीसम्म खट्नुहुन्छ । कुनै चाँहि नखट्ने आउँछ । त्यसलाई सुधार गरेर आफूलाई म म गर्नुपर्छ । कम्तीमा यस अस्पतालमा ५सय शैया आवश्यक देख्छु । त्यति भयो भने १५÷२० वर्ष देख्छौं ।’ अस्पतालको स्तरवृद्धि गर्न आफूले पहल गर्ने बताए । अस्पतालमा भवनको समस्या देखिएको भन्दै सरकारको तर्फबाट भूमिका खेल्ने बताए ।
सो अवसरमा कर्मचारीहरुले लामो समयदेखि करारमा काम गर्न बाध्य भएको भन्दै अस्पतालको गठन आदेश परीमार्जन गर्न स्वास्थ्य राज्य मन्त्रीको ध्यानाकर्षण गराएका थिए । राज्य मन्त्री केसीले लामो समयदेखि क्यान्सर अस्पतालमा करारको रुपमा काम गर्ने बाध्यताको हल गर्न पहल थाल्ने बताए । अनुगमनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख मेडीकल सुपरीटेण्डेण्ट डा.सर्वेश शर्मा लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्