चिनियाँ नेतासँग ओलीले भने : नेपाल-चीन सम्बन्धमा कुनै समस्या छैन

काठमाडौं, असार २८ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोट वार्ता सकिएको छ।

मंगलबार बिहान १० बजेदेखि ओली निवास बालकोटमा पुगेका चिनियाँ नेताहरुको टोली दिउँसो साढे २ बजे बाहिरिएको छ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार खाना खाएर पनि वार्ता भएको थियो। उक्त वार्तामा नेपाल(चीन परम्परागत सम्बन्धबारे दुई पक्षबीच विचार आदानप्रदान भएको एमाले विदेश विभाग प्रमुख डा। राजन भट्टराईले बताए।

ओलीले भेटका क्रममा भौगोलिक रुपमा पनि दुई देश नजिक रहेको चर्चा गर्दै एक चीननीतिप्रति प्रतिवद्धता दोहोर्‍याए।

उक्त भेटमा चिनियाँ नेता लिउले दुई देशबीच निकट सम्बन्ध रहेको चर्चा गर्दै विकासको साझेदारका रुपमा निरन्तर सहयोग गरिरहने वाचा गरेका छन् ।

विदेश विभाग प्रमुख लिउले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको नीति रहेको कुरा पनि दोहोर्‍याएका छन् ।

चीनसँग बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत भएका सहमति कार्यान्वयनतर्फ इंगित गर्दै लिउले नेपालले तिनलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

चिनियाँ कम्युनिष्ट पार्टीका नेता नेपालका वाम पार्टीलाई चुनावअघि नै मिलाउन आएको प्रसंगमा भने कुरा नभएको भट्टराईले बताए।

 

प्रतिक्रिया दिनुहोस्