फेरि काठमाण्डौको फोहर उठाउन समस्या, थुप्रिन थाल्यो चोकचोकमा

काठमाडौं, असार २६ । काठमाण्डौको फोहर व्यवस्थापनमा फेरि समस्या देखिएको छ । उपत्यकाको फोहर फाल्ने गरिएको बञ्चरे डाँडामा जाने सडक पानी परेका कारण बिग्रिएपछि फोहर व्यवस्थापनमा फेरि समस्या भएको हो ।

उपत्यकाबाट दैनिक दुईदेखि तीन सय ट्रक फोहर व्यवस्थापन गरिँदै आएकोमा अहिले सडकमा समस्या भएकाले दैनिक एक सय टनको हाराहारीमा मात्रै फोहर उठ्ने गरेको काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिए । आधाभन्दा कम फोहर उठेकाले फेरि उपत्यकाको चोकचोकमा फोहर थुप्रिन थालेका छन् ।

महानगरपालिकाले घरबाट फोहर उठाएपछि बञ्चरे डाँडासम्म पुर्‍याउन सडक बिग्रेर समस्या भएपछि अस्थायी व्यवस्थापन थालेको छ । महानगरपालिकाले टेकुको ट्रान्सफर स्टेशनमा रहेको फोहरलाई जीवातु ९कुहाउने झोल० राखेर प्लास्टिकले छोपेको छ । सहरमा उत्पादन भएको फोहर सङ्कलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहर छोपिएको राईले बताए ।

यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । यसो गर्दा दुर्गन्ध फैलन पाउँदैन । यो अस्थायी मात्रै भएको र बाटो सहज हुनेबित्तिक्कै फेरि फोहर व्यवस्थापन गरिने राईले बताउनुभयो । यो विधिबाट फोहोर व्यवस्थापन गर्दा फोहरबाट उत्पादन हुने दुर्गन्ध हट्छ । यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको ब्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहर व्यवस्थापनमा प्रयोग हुने गाडी राख्ने तथा फोहर ट्रान्सफर गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्