फुटको संघारमा जसपा : भट्टराई र यादव पक्षको छुट्टाछुट्टै वैठक बस्दै
काठमाडौँ , असार २६ । सत्तारुढ जनता समाजवादी पार्टीको विवाद फुट संघारमा पुगेको छ ।
अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद विभाजनको नजिक पुगेको हो । यादव र भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् ।
उपेन्द्र यादवले असार २९ र ३० गतेका लागि वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका थिए । त्यसपछि संघीय परिषद् अध्यक्ष भट्टराई पक्षले पनि काठमाडौंमा असार २८ र २९ मा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् ।
काठमाडौंमा बस्ने बैठकमा भट्टराईले समसायमिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने उनी निकट नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
उनका अनुसार छलफल हुने विभिन्न एजेण्डाहरू तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद् सदस्यलाई पठाइएको छ । जसपाको केन्द्रीय समितिको विस्तारित बैठकको एजेण्डाहरूमा पार्टीको आन्तरिक अवस्थाबारे छलफल, स्थानीय निर्वाचनको समीक्षाबारे छलफल, संगठनबारे छलफल, आगामी कार्ययोजनाबारे छलफल र विविध रहेको जनाइएको छ ।
भट्टराई पक्षले बैठक बोलाउने तयारी गरेपछि यादव पक्षमा रहेका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले गैरजिम्मेवार व्यक्तिको विधान विपरीत निणर्य भनेर आपत्ति जनाएका थिए । उनले विज्ञप्तिमार्फत भनेका थिए, ‘केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निणर्यविपरीत अवैधानिक तथा अनाधिकृतरुपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको बुझिन आएको, तर त्यो बैठक पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ ।’
अध्यक्ष यादवले भने वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका छन् । त्यसपहिले नै दुवैबीच एउटै पार्टीमा रहन सक्ने अवस्था नरहेको भन्दै सहमतिमै अलग(अलग बाटो लाग्ने भन्ने तय भएको थियो ।















प्रतिक्रिया दिनुहोस्