वाम–लोकतान्त्रिक शक्ति एकीकृत हुनु आवश्यक छ : प्रचण्ड

काठमाडौं, असार २६ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् ।

मुलुकको राष्ट्रिय स्वाधीनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धि रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्‍याउने आजको आवश्यकता भएको उनको भनाइ छ ।

मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै अध्यक्ष दाहालले यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सदभाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मावलम्बीको यस पर्वले नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समुन्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गर्ने पनि उनले बताए ।

समाजमा रहेका परम्परा, भाषा, धर्म र संस्कृतिले पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ भन्दै अध्यक्ष दाहालले यस्ता चाडपर्वको सम्वर्द्धन र प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व भएको सन्देशमा उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्