एसएसपी बोहराले सम्हाले काठमाडौंको कमाण्ड !
काठमाडौं, असार २३ । प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भरत बहादुर बोहराले जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले बुधवार बोहरासहित ६ जना एसएसपीलाई काज सरुवा गर्ने निर्णय गरेका थिए ।
कार्यभार सम्हालेसँगै एसएसपी बोहराले गुण्डागर्दीविरुद्ध शुन्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् । गोंगबु, दरबारमार्ग र बानेश्वरलगायतका क्षेत्रमा गुण्डागर्दी बढेको सूचना आएको उल्लेख उनले गरे ।
बोहराले भने,‘गुण्डागर्दी गर्ने र अनावश्यक हैरानी दिनेहरुलाई निगरानीमा राखेर कानुनी दायरामा ल्याउँछौं ।’
बोहरा प्रहरी प्रधान कार्यालयस्थित प्रशासन महाशाखाबाट काठमाडौंमा सरुवा भएका हुन् । प्रहरी उपरिक्षक हुँदा उनले केन्द्रीय प्रहरी विशेष कार्यदल र एसएसपी हुँदा संघीय प्रहरी इकाइ कार्यालय पोखरामा काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्