महिलामाथि बढ्दै गएको हिंसा रोक्न कानुन बनाउनु परेको हो- गृहमन्त्री खाण

काठमाडौँ , असार २३ ।   राष्ट्रियसभाको आजको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन् ।

उक्त विधेयकका विषयमा गृहमन्त्री खाणले महिला र बालबालिकामाथि हिंसा बढ्दै गएकाले कारबाही र नियमन गर्नका लागि यो बनाउनुपरेको बताए ।

“यस्ता पद्धार्थको उत्पादन, निकासी पैठारी, प्रयोगलाई कसरी नियन्त्रण र विस्थापन गर्ने भन्ने प्रयोजनका लागि यो ऐन ल्याउन लागिएको हो”, उनले भने , “तेजाबका कारण महिलाहिंसाका घटना हृदयविदारक छन्, उत्पादन गर्दा पनि व्यवस्थितरुपमा गर्नुपर्ने, आयात निर्यात गर्दा सुरक्षित बनाउन यो ऐन जरुरी भएको हो ।”

उहाँले भण्डारण गर्न, किन्न र बेच्न पनि सबैले नपाउने कानुन बनाउन लागिएको जानकारी दिँदै सहजरुपमा उपलब्ध हुँदा विकृति बढेको बताए ।

बैठकमा सांसदहरुले महिलामाथि तेजाब आक्रमणजस्ता गतिविधि हुने गरेकाले रोक्नका लागि यो ऐन बनाएर छिट्टै कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २८ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्