कामपाले भन्यो- फुटपाथमा व्यापार गर्न दिने नीति छैन
काठमाडौं, असार २३ । काठमाडौँ महानगरपालिकाले फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको बताएको छ।
महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्य लगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने महानगरले जनाएको छ।
महानगरले नगर प्रहरीलाई दिएकामध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए।
एक महिनाअघि निर्वाचित भएका महानगर प्रमुख बालेन्द्र साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने बताएको उनले स्मरण गराए।
महानगरले आगामी आर्थिक वर्षका लागि यही असार ८ गते नगर सभाबाट पास गरेको नीति तथा कार्यक्रममा पनि फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने उल्लेख छ।
काम गर्दा आलोचना आउनु स्वभाविक भएको उल्लेख गर्दै उनले सडक अतिक्रमणलाई नियन्त्रण गर्ने काम महानगरले गरेको बताएका छन् ।
अतिक्रमण नियन्त्रण गर्दा एक पक्षलाई मर्का पर्ने र मर्का परेका पक्षबाट विभिन्न किसिमका नकारात्मक टीकाटिप्पणी हुनुलाई आफूले स्वभाविक रुपमा लिएको उनको भनाइ छ।
फुटपाथ व्यवस्थापनको काम आमनागरिकको हितका लागि गरिएको प्रमुख सापकोटाले बताए।
फुटपाथ व्यवस्थापनका हिसाबले अहिले मानिसको आवागमन बढी हुने साँझ बिहानको समय भएकाले नगर प्रहरी त्यो नियन्त्रण गर्न केन्द्रित भएको उनको भनाइ रहेको छ ।
यता सडक किनारामा मकै पोलेर बिक्री गर्दै आएका दम्पतीलाई नगर प्रहरीले लछारपछार गर्दै सामान जफत गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिका केही आलोचित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्