विप्लवको चेतावनी : राजासँग सेनालाई मिलाएर अरु दललाई प्रतिबन्ध लगाउने नै हो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजासँग सेनालाई मिलाए अरु पार्टीलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘नाम नै त नलिऊँ, मेरा केही पुराना मित्रहरुले विप्लवहरुले त राजासँग सेनालाई मिलाएर अरु पार्टीलाई प्रतिबन्ध लगाउन खोज्दैछ भन्छन् । लाउने नै हो,’ उनले भने । दलाल र देश बेच्नेहरुलाई भोट हाल्न दिन नहुने पनि उनले बताएका छन् ।

‘दलालहरुलाई प्रतिबन्ध लगाइँदैन त ? देश बेचेर खानेहरुलाई भोट हाल्न दिनु हुँदैन नेपालमा,’ विप्लवले थपे, ‘१० वर्ष प्रतिबन्ध लगाएर भोट हाल्न दिनु हुँदैन । देश बेचेर खानेलाई जनताले पाउने अधिकार दिन हुँदैन ।’ राजनीति वर्ग संघर्ष र पीडाबाट निस्कने विषय भएको पनि उनले बताएका छन् ।

‘न्यायाधीशलाई घरबाट थुतेर कुट्नु पर्छ’

महासचिव चन्द्र विप्लवले आफना दलका कार्यकर्तालाई धेरै धरौटी मागेको भन्दै उनले न्यायाधीशहरुलाई घरबाट थुतेर कुट्नुपर्ने हिंसात्मक अभिव्यक्ति समेत दिएका छन् ।

महासचिव विप्लव अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौ रुपैयाँ धेरौटी मागेको बताए । उनले भने, ‘एउटा पढिरहेका विद्यार्थीलाई १० लाख, पाँच लाख धरौटी माग्ने हो ? देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख रुपैयाँ धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यिनलाई त घरघर गएर थुतेर कुट्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्