भक्तपुर र हेटौंडामा पनि देखियो हैजा, संक्रमितको संख्या २१ पुग्यो
काठमाडौँ असार २२ । भक्तपुर र मकवानपुरको हेटौंडामा पनि हैजाका बिरामी भेटिएका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका-४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।
दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका विरामीको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । हालसम्म २१ जना हैजाका संक्रमित पुष्टि भइसकेको महाशाखाका निर्देशक डा. चुम्मनलाल दासले जानकारी दिए ।
काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) , किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।
काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने र जारको पानीमा ईकोलाई र कोलिफर्म देखिएको छ । ईकोलाई मानिसको दिसामा हुने जीवाणु हो । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा आजभोलि झाडापखालाका बिरामी बढिरहेका छन् ।
गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हैजाको संक्रमण हुँदा पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण देखिन्छन् ।
चिकित्सकका अनुसार झाडापखाला हुँदा घरमै उपचार गर्न सकिन्छ । झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने, प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक-पटक खाने, नरम तथा सजिलै पच्ने खानेकरा थोरै-थोरै गरी खाने, स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङक चक्कीको मात्रा नविराइकन खाने, व्यक्तिगत सरसफाईमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खानुपर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्