अर्थमन्त्री प्रकरण : मन्त्रीहरू एमालेसँग छलफलमा, मझधारमा कांग्रेस
काठमाडौं,असार २२ । प्रतिनिधिसभाको ११ बजेका लागि बोलाइएको बैठक साढे १२ बज्दासम्म पनि बस्न सकेको छैन । अर्थमन्त्री जनार्दन शर्मासम्बन्धी विवादले गर्दा संसद् बैठक अवरुद्ध हुने भएकाले बस्न नसकेको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्माले संसद्को रोस्ट्रमबाट बोल्न खोजे अवरुद्ध गर्ने जानकारी सभामुख अग्निप्रसाद सापकोटालाई दिइसकेको छ । संसद्मा अर्थमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन र नियमित झैं चलाउनका लागि मन्त्रीहरू एमाले संसदीय दलका पदाधिकारीसँग छलफल गरिरहेका छन् ।
संघीय संसद्, बानेश्वरमा रहेका एक अधिकारीका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायतसँग छलफल गरिरहेका छन् ।
सभामुख सापकोटाले भने गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङसँग छलफल गरिरहेका छन् ।
बजेट निर्माणका क्रममा मन्त्री शर्माले अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेरमा संलग्न गराएको आरोप छ । एमालेले त्यसको छानबिन माग गरिरहेको छ । यता विवादित अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन सत्तारुढ दल नेपाली कांग्रेसभित्र चर्को दबाब छ । तर, पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा अर्थमन्त्रीलाई बर्खास्त गर्न तयार छैनन् । अर्थमन्त्रीलाई बर्खास्त गर्दा गठबन्धनमा समस्या हुने र त्यसले आसन्न चुनावमा क्षति हुन सक्ने देउवाको बुझाइ छ । पार्टीका नेताहरुले अर्थमन्त्रीलेबारे प्रस्ट धारणा राखे पनि देउवा भने बोलेका छैनन् । अर्थमन्त्री विवादमा कांग्रेस मझधारमा उभिएको छ ।
गठबन्धन सरकारको नेतृत्वमा रहेको कांग्रेसले अर्थमन्त्रीका गलत गतिविधिको विरोध गर्ने, तर कारबाही भने नगर्ने देखिएको छ ।स्रोतका अनुसार विवादित अर्थमन्त्रीबारे प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निरन्तर संवादमा छन् । दाहालले अर्थमन्त्री शर्मालाई हटाउन चाहे प्रधानमन्त्री देउवा पनि तयार छन् । तर दाहालको सहमतिविपरीत देउवाले शर्मालाई अर्थमन्त्रीबाट बर्खास्त गर्ने अवस्था नरहेको ती नेताको भनाइ छ ।
यसबारे प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच मंगलबार साँझ बालुवाटारमा छलफल भएको थियो । देउवा र दाहालबीच बुधबार संसदीय छानबिन समिति गठन गर्ने र अर्थमन्त्री शर्मामाथि छानबिनको प्रक्रिया अघि बढाउने सहमति छ । अर्थमन्त्री विवादमा कांग्रेसका अन्य पदाधिकारी र सांसदहरुले पनि प्रष्ट धारणा राख्दै आएका छन् । अर्थमन्त्रीले राजीनामा दिनु सबैभन्दा उपयुक्त हुने नेताहरुको सुझाव छ ।
सोमबारमात्रै कांग्रेस महामन्त्री गगनकुमार थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका थिए । अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने थापाको सुझाव थियो ।
कांग्रेसको मंगलबार बसेको सभापति देउवाबाहेक पदाधिकारीहरुको बैठकमा समेत महामन्त्री थापाले अर्थमन्त्रीका कारण कांग्रेसको इमेज ड्यामेज भइरहेको बताए ।
प्रवक्ता प्रकाशसरण महतले पार्टीको बैठकमा अर्थमन्त्रीबारे कुनै छलफल नभएको बताए ।














प्रतिक्रिया दिनुहोस्