नागरिकता विधेयक : संसदमा आजै अर्को विधेयक दर्ता गराइँदै

काठमाडौँ , असार २२ । सरकारले आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा नागरिकतासम्बन्धी अर्को विधेयक दर्ता गराउने भएको छ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दैछ ।

मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने निणर्य गरेपछि आजको प्रतिनिधि सभामा विधेयक दर्ता गराउने तयारी भएको हो ।

विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गर्नुपर्ने भएकाले आजको बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । प्रतिनिधिसभा चुनावको मिति घोषणा हुने बेला सरकारले विधेयक फिर्ता लिन लागेको हो । सरकारले नयाँ विधेयक ल्याए पनि दफावार छलफलका लागि समितिमा पठाउनुपर्ने हुन सक्छ । समितिमा सहमति जुटेन भने फेरि पारित गर्न ढिलाइ हुन सक्छ ।

प्रतिनिधिसभाको यो कार्यकालमा पनि विधेयक पारित नभए जन्मसिद्ध नागरिकता भएका बुवा-आमाका सन्तानले नागरिकता पाउन प्रतिनिधिसभाको अर्को कार्यकाल कुर्नुपर्ने हुन्छ । संसदमा भएको विधेयकलाई नियमित प्रक्रियामा लाँदा प्रतिनिधिसभाको यस कार्यकालभित्रै टुंगोमा पुग्न नसक्ने देखिएकाले फास्ट ट्रयाकबाट अघि बढ्न फिर्ताको निणर्य लिनुपरेको एक मन्त्रीले बताएका छन्  ।

प्रतिनिधि सभामा चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने निणर्य गरेको हो । नागरिकतासम्बन्धी विधेयक संसदमा २०७५ साउन ४ गते दर्ता गरिएको थियो । यो विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले २०७७ साल असार ७ गते बहुमतले पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्