अर्थमन्त्रीज्यू, सीसीटीभी फुटेज गायब गर्ने को हो भन्दै शर्माविरूद्ध प्रदर्शन

काठमाडौं, असार २१ ।  बजेट निर्माण प्रकृयामा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिको प्रवेश गराएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौंमा प्रदर्शन गरेको हो ।

उनीहरुले ‘अर्थमन्त्री ज्यू, सीसीटीभी फुटेज गायब गर्ने को हो ?, ‘सेतो जुंगा, कालो मन, सीसीटीभी फुटाउने मै हो भन’ लेखिएको व्यानर बोकेर नारा लगाएका थिए । अहिले अर्थमन्त्री शर्माको आलोचना भइरहेको छ।

शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरिएको हो । आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा संलग्न गराई कुनै स्वार्थ समूहको इसारामा करको दर हेरफेर गरिएको भन्दै शर्मालाई बर्खास्त गर्न माग गर्दै हनुमानस्थान अनामनगरमा उनीहरुले प्रदर्शन गरेका हुन्।

अर्थ मन्त्रालयका गतिविधिको विषयमा सिसिटिभी फुटेज माग्दा हटाइएको भन्ने जवाफ आएपछि चौतर्र्फी आलोचना भएको छ। फुटेज हटाउने वा ‘सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि’ उल्लंघन गर्ने काममा संलग्न व्यक्ति वा निकाय वा दुवैलाई तत्काल कानुनबमोजिम कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन्।

सूचनाको हकको निवेदन राखी अर्थ मन्त्रालयमा बजेट तयारीको अघिल्लो दिनको सिसिटिभी फुटेज माग गर्दा मन्त्रालयले हटिसकेको जवाफ दिएको थियो। त्यसको सर्वत्र विरोध भएको छ।

यता शर्माको आलोचनापछि प्रचण्डले अर्थमन्त्रीबारे प्रधानमन्त्री र सभामुखसँग छलफल गरेर निर्णय लिने बताएका छन् ।

अर्थमन्त्री शर्माले बजेट बनाउने क्रममा गत जेठ १४ गते मन्त्रालयमा अनाधिकृत व्यक्ति सहभागी गराएको विषय नेकपा माओवादी केन्द्रका लागि समेत टाउको दुखाइ बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्