माओवादीमा पदाधिकारी चयन गर्ने जिम्मा प्रचण्डलाई

काठमाडौं, असार २१ । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्य बैठकले पार्टीका पदाधिकारीसहित बाँकी रहेका कमिटी टुंग्याउनेबारे ठोस प्रस्ताव ल्याउने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान बसेको बैठकमा नेताहरुले पदाधिकारी तथा कमिटीहरु समयमा नटुंग्याए नराम्रो सन्देश जाने भन्दै छिटो टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए।

यसका लागि अध्यक्षले ठोस प्रस्ताव ल्याउनुपर्ने नेताहरुको सुझाव थियो। छलफलपछि बैठकले यसबारे प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको छ।

बैठकपछि प्रचण्डले पदाधिकारीलाई पूर्णता दिने तयारी गरेका छन्। उनले स्थायी कमिटी समेत गठन गर्ने तयारी गरेको बताइएको छ। त्यसका लागि उनले नेताहरुको नाम प्रस्ताव गर्ने भएका छन्।

आइतबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सोमबार प्रचण्डको राजनीतिक प्रस्तावमाथि छलफल भएको थियो। मंगलबार पनि बैठक बस्दै थियो। तर, बुधबार १ बजे बस्ने गरी मंगलबारको बैठक स्थगित भएको थियो। केन्द्रीय सदस्यले पदाधिकारी टुंगो लगाउन प्रचण्डलाई दबाब दिएपछि मंगलबारको बैठक स्थगित गरिएको बताइएको छ। मंगलबार खुमलटारमा बसेको केन्द्रीय काार्यालय बैठकले संगठनको ठोस प्रस्ताव बनाउने जिम्मा प्रचण्डलाई दिएको प्रेस संयोजक रमेश मल्लले जानकारी दिए।

२०७८ पुस १८ गते महाधिवेशन सकिएको भए पनि त्यसयताको ६ महिनासम्म माओवादीले अध्यक्ष बाहेक पदाधिकारी छान्न सकेको छैन। प्रचण्ड यतिबेला पदाधिकारी टुंगो लगाउन ‘होमवर्क’मा जुटेका छन्। आइतबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा सदस्यहरुले पदाधिकारी टुंगो लगाउन दबाब दिएसँगै प्रचण्ड त्यसको होमवर्कमा जुटेका हुन्। यस्तै प्रचण्डले यही मेसोमा स्थायी समिति र पोलिटब्युरो पनि टुंग्याउन छलफल गरिरहेका छन्। प्रचण्डले सहमति जुटाउनकै लागि आज बस्ने भनिएको बैठक स्थगित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्