रामेछाप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ‘ब्रेक फेल’ भएको प्रारम्भिक अनुमान

काठमाडौँ , असार २१ । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीकाअनुसार दुर्घटनामा घाइते भएका थप ३ जनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा २१ जना घाइते छन् । घाइतेहरूलाई धुलिखेल अस्पताल लगिएको पहाडीले बताए । यता दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ ।

सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार त्यो गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्