गठबन्धनको सरकारमा कुर्सीको समस्या सामान्य हो : प्रधानमन्त्री देउवा

काठमाडौं, असार २१ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व। नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्य रूपमा लिनुपर्ने बताएका हुन् ।

उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्यालाई सामान्य रूपमा लिन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले मोरङको विराटनगरमा रहेको भवनलाई स्व। नेता गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको बताए । उनले संग्रहालय बनाउने कुरामा सरकारले सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री देउवाले सधैँ जनताका लागि लडिरहने नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गर्न पाउँदा खुसी लागेको बताए । उनले स्व। नेता कोइरालाले दलहरूबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा बारम्बार भनिरहने उल्लेख गर्दै आज पनि सहमति र सहकार्यको कुरा सान्दर्भिक रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालयमा ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष स्व। नेता गिरिजाप्रसाद कोइरालाको अर्धकदको सालिक अनावरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्