गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ

असार २१ ।  नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन्।

आज काठमाडौँमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले गठबन्धनरुपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताए।

आगामी मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरुपी विमानले सुरक्षित अवतरण गर्ने बताए। उनले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरुले एकअर्काप्रति आरोप, प्रत्यारोप गर्नु नहुने बताए। जहाजबाट प्यारासुट जम्प गर्दा दुर्घटना निम्तिने उल्लेख गरे। उपसभापति गुरुङले गठबन्धनै दलहरुले काँग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिने बताए।

उनले भने, ‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौं। जहाज उडिसकेको छ। आकाशामा छ। तर ल्याण्डिङ भएको छैन। अब हामीले त्यो जहाजलाई सेफ ल्याण्डिङ कसरी गर्ने? भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरुले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ। जहाजलाई सेफ ल्याण्डिङ गर्नेपर्ने हाम्रो दायित्व छ। वा त हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ। तर खुट्टा भाँचिन्छ की भन्नेपनि हामीलाई त्रास छ। जम्प पनि गर्नुभएको छैन, धेरै माथि उडेको छ। १० हजार, साढे १० हजा फिट माथि उडिरहेको छ। अहिले जहाज। अब त्यसलाई सेफ ल्याण्डिङ गर्ने बेलामा कसैले काँग्रेस इमान्दार भएन भन्ने, अर्को दल इमान्दार भएन भनेर आकाशमा उडिरहेको जहाजमाथि हामीले झगडा शुरु गर्ने हो भने जहाजले सेफ ल्याण्डिङ गर्न सक्दैन। हाम्रो मिसन भनेको संविधान जोगाउने मिसन हो। हामीले जहाज ल्याण्डिङ नगर्दै एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने हो भने हामी अपरिपक्व राजनीतिज्ञ हौँ भन्नेकुरा हामी आफैँले प्रमाणित हुन्छ। हामी आउने मंसिरतिर सायद मलाई लाग्छ जहाज सेफ ल्याण्डिङ गर्नसक्छौँ भन्ने विश्वास छ।’

उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेके पुष्टि हुने दाबी गरे। उनले सधैँ देश गरिब बनाएर काम गर्नुनहुने भन्दै सरकार सञ्चालन कर्ताले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको बताए। उनले व्यवस्था परिवर्तन गरेरपनि जनताको अवस्था परिवर्तन गर्न नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्