प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाने निश्चित, मिति र एजेन्डा अझै तय भएन

काठमाडौं, असार १९ ।  प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने लगभग निश्चित भएको छ ।

आइतबार परराष्ट्र मन्त्रालयले प्रधानान्त्रीको भ्रमणको तयारी भइरहेको तर मिति तय भइनसकेको जानकारी दिएको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणका लागि विभिन्न चरणमा गृहकार्य गर्नुपर्ने भएकाले मिति तय हुन समय लागेको बताइन् ।

“भ्रमणका लागि विभिन्न चरणमा गृहकार्य गर्नुपर्ने भएकाले मिति तय हुन समय लागेको हो । उपयुक्त समयमा यसबारे थप जानकारी दिनेछौँ,” उनले भनिन् ।

केही सातादेखि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको चर्चा चलेपनि अहिलेसम्म मिति र एजेन्डाबारे मन्त्रालयले कुनै जानकारी दिएको छैन ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको पछिल्लो बैठकमा अमेरिकी स्टेट पाटनर्सिप प्रोग्राम (एसपीपी), प्रधानमन्त्रीको अमेरिका भ्रमणको एजेन्डा र मितिबारे सरकारको धारणा माथिएको थियो । त्यसबेला परराष्ट्रमन्त्री नारायण खड्काले भ्रमणको एजेन्डाबारे प्रारम्भिक छलफल मात्र चलिरहेको बताएका थिए । अहिले पनि मन्त्रालयले भ्रमणबारे स्पष्ट जानकारी दिएको छैन ।

यता अमेरिका भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आजै स्वदेश फर्किँदै छन् ।

यसैबीच, परराष्ट्र मन्त्रालयलये एसपीपीमा सहभागी नहुनेबारेको पत्राचार उपयुक्त समयमा गर्ने जानकारी दिएको छ । प्रवक्ता लम्सालले एसपीपीमा सहभागी नहुने विषयमा अमेरिकासँग पत्रचार भइनसकेको बताइन् । “अहिले अध्ययन भइरहेको छ ।उपयुक्त समयमा सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्