परराष्ट्र मन्त्रालयले भन्यो – एसपीपी रद्दबारे अमेरिकालाई पत्र लेखिएको छैन
काठमाडौं, असार १९ । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे अमेरिकालाई पत्र पठाउने विषय अध्ययनकै क्रममा रहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपी रद्द गर्ने मन्त्रिपरिषद्को निर्णयबारे मन्त्रालय जानकार रहेको र उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउने बताइन्।
प्रवक्ता लम्सालले एसपीपीबारे यसअघि भएका निर्णयबारे परराष्ट्र मन्त्रालयको कहिकतै संलग्नता नभएको समेत उनले स्पष्ट पारेकी छन् । प्रवक्ता लम्सालले भनिन्, ‘अध्ययनकै क्रममा भएकाले पत्र पठाएको छैनौं, उयुक्त समयमा अमेरिकालाई कुटनीतिक माध्यमबाट पत्र पठाउँछौं।’
नेपाल सरकारले असार ६ गते एसपीपी अस्वीकार गर्ने निर्णय गर्दै औपचारिक जानकारी दिन अमेरिकालाई पत्र पठाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई दिएको थियो।
नेपाली सेनाले परराष्ट्र मन्त्रालयलाई उपेक्षा गर्दै एसपीपीबारे अमेरिकाको युटा राज्यस्थित नेसनल गार्डसँग समझदारी गरेको विषय सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो।
प्रतिक्रिया दिनुहोस्