छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कानुनी समस्या हुँदैन : राष्ट्रपति भण्डारी

काठमाडौं, असार १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कुनै कानुनी समस्या नहुने बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्ने विषयमा कुनै कानुनी समस्या नहुने बताएकी हुन् ।

‘सरकार र सरोकारवाला निकायले समयमै गम्भीरतापूर्वक विचार गर्दै मुलुकमा कानुन विषयको अध्ययन, अध्यापन र अनुसन्धानलाई अझै उन्नत बनाउन, कानुन विश्वविद्यालयको अवधारणामा पनि पर्याप्त छलफल र बहस सुरु हुने अपेक्षा लिएकी छु,’ उनले भनिन् ।

उनले मुलुकलाई आवश्यक नयाँ युगको नयाँ चुनौतीहरूको सामना गर्न सक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरूको विकास गर्दै कानुनी शिक्षालाई युगसापेक्ष बनाउँदै लैजानुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले कानुन शिक्षालाई समयसापेक्ष, व्यावहारिक, अनुसन्धानमूलक, गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लैजान आवश्यक रहेको बताइन् । कानुनी शिक्षा नै कानुनी शासन स्थापनको आधार भएका उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्