टेस्ट क्रिकेट- अष्ट्रेलियाद्धारा श्रीलंका १० विकेटले पराजीत

काठमाडौं , असार १७ ।   अस्ट्रेलियाले शुक्रबार घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा १० विकेटको जित निकालेको छ ।

जितसँगै अस्ट्रेलियाले दुई टेस्ट खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट ८ जुलाईमा सुरु हुनेछ ।

पहिलो टेस्टको तेस्रो दिन घरेलु टोलीको दोस्रो इनिङ ११३ रनमा सीमित भएपछि अस्ट्रेलियाले जितका लागि मात्र १० रनको लक्ष्य पाएको थियो । जुन अस्ट्रेलियाले मात्र चार बलमा पूरा गर्‍याे । अस्ट्रेलियाका ओपनर डेविड वार्नरले चार बलमा एक चौका र एक छक्का मद्दतमा अविजित १० रन जोडे ।

यसअघि ३१३-८ बाट तेस्रो दिनको खेल सुरुवात गरेको अस्ट्रेलियाले थप आठ रन जोड्दा बाँकी दुई विकेट गुमाएको थियो ।

अस्ट्रेलियाले पहिलो इनिङमा श्रीलंकामाथि १०९ रनको अग्रता लिएको थियो । श्रीलंका पहिलो इनिङमा २१२ रनमा अलआउट भएको थियो ।

शुक्रबार दोस्रो इनिङको सुरुआत गरेको श्रीलंका मात्र ११३ रनमा सीमित भयो । ट्राभिस हेड र नाथन लियोनले समान चार विकेट लिएपछि श्रीलंका सस्तोमा समेटिएको थियो ।

श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले २३ तथा ओपनर पाथुम निसंकाले १४ रन जोडे । करुणारत्ने र निसंकाले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए ।

त्यसपछि भने श्रीलंकाका कुनै पनि ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् । श्रीलंकाले थप ७९ रन जोड्दा बाँकी नौ विकेट गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्